संकल्प डेस्क । कठिन भौगोलिक बनावट, गहिरा खोँच, ठूला नदी र दुर्गम बस्तीलाई जोड्ने आवश्यकता नै नेपाललाई झोलुङ्गे पुल निर्माणमा विश्वकै अग्रणी मुलुकमध्ये एक बनाउने प्रमुख कारण बन्यो।
नेपालमा आधुनिक झोलुङ्गे पुल निर्माणको सुरुआत वि.सं. २०२० (सन् १९६४) तिर संस्थागत रूपमा भएको थियो। त्यसपछि सरकारले प्राविधिक मापदण्ड, गुणस्तरीय डिजाइन, स्थानीय जनसहभागिता र नियमित मर्मत प्रणाली अपनाउँदै देशभर हजारौँ झोलुङ्गे पुल निर्माण गर्यो। हाल नेपालमा १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भइसकेका छन्, जसले दुर्गम बस्तीलाई सडक, विद्यालय, स्वास्थ्य संस्था र बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ
नेपालको सफलतामा स्वदेशी इन्जिनियरिङ क्षमता विकास, एकरूप डिजाइन मापदण्ड, स्थानीय सरकारको सहभागिता तथा स्विस सरकारसँगको दीर्घकालीन सहकार्यलाई प्रमुख आधार मानिन्छ। यही अनुभवका कारण नेपालका प्राविधिकहरूले एशिया र अफ्रिकाका विभिन्न देशमा पनि झोलुङ्गे पुल निर्माणसम्बन्धी प्राविधिक सहयोग प्रदान गर्दै आएका छन्।