महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–४ कालिकास्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २२ वर्षीय मोहन ठगुन्ना रहेका छन्। सोमबार दिउँसो साथीहरूसँग महाकाली नदीमा नुहाउन गएका ठगुन्ना अचानक नदीमा डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै स्थानीयवासीले उनको खोजी थाले पनि सफलता नमिलेपछि सशस्त्र प्रहरीलाई खबर गरिएको थियो। सूचना प्राप्त हुनासाथ देविस्थान गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थलमा परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त खोजी अभियानपछि ठगुन्नालाई नदीबाट मृत अवस्थामा बाहिर निकालिएको प्रहरीले जनाएको छ।
घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
वर्षायाममा नदीको बहाव तीव्र हुने भएकाले महाकालीलगायत नदीमा नुहाउँदा विशेष सावधानी अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ।
समाज
महाकाली नदीमा दुःखद घटना: नुहाउने क्रममा युवकको मृत्यु
कञ्चनपुरको दोधाराचाँदनी–४ स्थित महाकाली नदीमा नुहाउने क्रममा २२ वर्षीय मोहन ठगुन्नाको डुबेर मृत्यु भएको छ। स्थानीय र सशस्त्र प्रहरीको संयुक्त खोजीपछि उनको शव नदीबाट निकालिएको हो। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।