समाज

महेन्द्रनगरका होटल र मिठाई पसलमा खाद्य अनुगमन, किरायुक्त मिठाई भेटिएपछि पसल शिल

कञ्चनपुरको महेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले १५ वटा होटल, चाउमिन र मिठाई पसलमा अनुगमन गरेको छ। अनुगमनका क्रममा शिवानी स्वीट हाउस एण्ड नास्ता पसलको मिठाईमा किरा भेटिएपछि पसल शिल गरिएको छ। भट्ट नास्ता पसलमा अत्यधिक रङ प्रयोग गरिएको करिब ६० केजी खानेकुरा नष्ट गरिएको छ भने गुड्डु स्वीट हाउसलाई सरसफाइ सुधार गर्न एक महिनाको समय दिइएको छ।

कञ्चनपुर। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आइतबार महेन्द्रनगरस्थित होटल, चाउमिन तथा मिठाई पसलहरूमा अनुगमन अभियान सञ्चालन गरेको छ। अनुगमनका क्रममा १५ वटा व्यवसायिक प्रतिष्ठानको खाद्य गुणस्तर, सरसफाइ तथा खाद्य सुरक्षा मापदण्डको निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा महेन्द्रनगरस्थित शिवानी स्वीट हाउस एण्ड नास्ता पसलमा बिक्रीका लागि राखिएको मिठाईमा किरा भेटिएपछि उक्त पसल तत्काल शिल गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिए।
यस्तै, भट्ट नास्ता पसलमा तयार पारिएका खानेकुरामा अत्यधिक कृत्रिम रङ प्रयोग गरिएको पाइएपछि करिब ६० किलोग्राम खानेकुरा नष्ट गरिएको छ।
त्यसैगरी, गल्ली नम्बर–१ स्थित गुड्डु स्वीट हाउसमा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको र फोहोर भेटिएकाले एक महिनाभित्र आवश्यक सुधार गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ।
कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य व्यवसायमा नियमित अनुगमनलाई निरन्तरता दिइने तथा मापदण्ड उल्लङ्घन गर्ने व्यवसायमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।