अन्तर्राष्ट्रिय

वरिष्ठ अभिनेता नाना पाटेकर को ७५ बर्षको उमेर मा निधन

वरिष्ठ अभिनेता नाना पाटेकर को ७५ बर्षको उमेर मा निधन
भारतीय चलचित्रका वरिष्ठ अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा गोवास्थित निवासमा निधन भएको छ। बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म पुनर्जीवित गर्ने प्रयास गरे पनि बिहान ५ः२० बजे उनलाई मृत घोषणा गरिएको हो। प्रारम्भिक विवरणअनुसार उनको निधन गम्भीर हृदयाघातका कारण भएको बताइएको छ। हिन्दी तथा मराठी चलचित्रमा सशक्त अभिनयका लागि परिचित पाटेकरले राष्ट्रिय पुरस्कार तथा पद्मश्रीसहित थुप्रै सम्मान प्राप्त गरेका थिए। उनको निधनले भारतीय चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ।

संकल्प डेस्क- भारतीय चलचित्रका वरिष्ठ अभिनेता तथा निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार बिहान गोवास्थित डोना पाउला निवासमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। तर, चिकित्सकको अथक प्रयासका बाबजुद उनको ज्यान बचाउन सकिएन।
भारतीय सञ्चारमाध्यमका अनुसार पाटेकरलाई निवासमै बेहोस अवस्थामा भेटिएपछि मणिपाल अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर (CPR) लगायतका उपचार प्रयास गरे पनि उनको स्वास्थ्यमा सुधार आएन। उनलाई स्थानीय समयअनुसार बिहान करिब ५ः२० बजे मृत घोषणा गरिएको थियो।
प्रारम्भिक विवरणअनुसार उनको निधनको कारण गम्भीर हृदयाघात (कार्डियक अरेस्ट) रहेको बताइएको छ। घटनासम्बन्धी मेडिकल–लिगल प्रक्रिया अघि बढाइएको र मृत्युको यकिन कारणका लागि पोस्टमार्टम गरिने जनाइएको छ।
नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रमा आफ्नो सशक्त अभिनय, प्रभावशाली संवादशैली र गहिरो चरित्र प्रस्तुतिका लागि चर्चित थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी: द म्युजिकल’, ‘अब तक छप्पन’ तथा ‘वेलकम’ लगायतका चलचित्रमा उनले निर्वाह गरेका भूमिकाले उनलाई भारतीय सिनेमामा विशिष्ट पहिचान दिलाएको थियो।
उनले अभिनयसँगै निर्देशनमा समेत योगदान दिएका थिए। लामो चलचित्र यात्रामा उनले राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका थिए भने सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो।
पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ। उनका सहकर्मी, शुभेच्छुक तथा विश्वभरका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।