संकल्प डेस्क ,महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा एक जना वडा सदस्य पक्राउ परेकी छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रुपा जैरु रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले प्राप्त गोप्य सूचनाका आधारमा असार ६ गते भीमदत्त–१८ कटान क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शंकास्पद गतिविधिमा संलग्न देखिएकी जैरुको शरीर खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको अवस्थामा लागुऔषध फेला परेको थियो। बरामद लागुऔषधमा प्रोमेथाजिन हाइड्रोक्लोराइडका १५ एम्पुल र बुप्रेनोर्फिन हाइड्रोक्लोराइडका ३० एम्पुल समावेश छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।