राजनीति

चार अध्यादेशलाई प्रतिनिधिसभाको हरियो झण्डा

चार अध्यादेशलाई प्रतिनिधिसभाको हरियो झण्डा
प्रतिनिधिसभाले सरकारले गत वैशाखमा जारी गरेका सार्वजनिक खरिद, मनि लाउन्डरिङ, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी चार अध्यादेशलाई शुक्रबारको बैठकबाट स्वीकृत गरेको छ। अध्यादेश खारेज गर्न माग गरिएका प्रस्ताव अस्वीकृत भएपछि संसद्ले अध्यादेश अनुमोदन गरेको हो।

संकल्प डेस्क । सरकारले गत वैशाखमा अध्यादेशमार्फत ल्याएका चार महत्वपूर्ण कानुन संशोधन प्रस्तावले प्रतिनिधिसभाबाट स्वीकृति प्राप्त गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी (पहिलो संशोधन) तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई बहुमतले अनुमोदन गरेको हो।
अध्यादेश अस्वीकृत गरिनुपर्ने मागसहित दर्ता भएका प्रस्तावहरू संसद्ले अस्वीकार गरेपछि सम्बन्धित मन्त्रीहरूले आफ्नो धारणा राखेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाले स्वीकृत गरेको हो।
सरकारले गत वैशाखमा संसद् अधिवेशन अन्त्य भएको अवस्थामै यी अध्यादेश जारी गरेको थियो। वैशाख २८ गते सुरु भएको संसद् अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू प्रतिनिधिसभामा पेश गरिएको थियो।