काठमाडौं। बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले मंगलबार महत्वपूर्ण फैसला सुनाउँदै सातजनाबाहेक अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। सोही कसुरमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पासमेत दोषी ठहर भएका छन्।
त्यस्तै, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडसहित टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसुरमा मतियार रहेको ठहर गरिएको अदालतले जनाएको छ।
यसैबीच, अदालतले मुद्दा चलाइएका सातजनालाई भने सफाइ दिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा पूर्वमन्त्री, उच्च सरकारी अधिकारी र बिचौलियाको संलग्नता रहेको आरोपमा यो मुद्दा दायर गरिएको थियो। अदालतको पछिल्लो फैसलालाई नेपालको बहुचर्चित भ्रष्टाचार तथा संगठित अपराधसम्बन्धी मुद्दामध्ये एक महत्वपूर्ण न्यायिक निर्णयका रूपमा हेरिएको छ।