राजनीति

प्रतिनिधिसभा अवरुद्ध, सीमा सम्बन्धी अभिव्यक्तिमा विवाद चुलियो

प्रतिनिधिसभा अवरुद्ध, सीमा सम्बन्धी अभिव्यक्तिमा विवाद चुलियो
नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा लगातार अवरुद्ध भएको छ। प्रधानमन्त्री Balen Shah ले दिएको अभिव्यक्तिलाई सच्याउनुपर्ने, माफी माग्नुपर्ने तथा संसद्मा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरेका हुन्। सरकार पक्षले भने प्रधानमन्त्री आवश्यक परे संसद्मा उपस्थित हुन सक्ने जनाएको छ। तर त्यसको निश्चित मिति तय भएको छैन। विवादका कारण मंगलबार पनि बैठक सञ्चालन हुन सकेन।

कंचनपुर ,नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्री बालेन शाह ले जेठ १७ गते दिएको अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरू संसद् अवरुद्ध गरिरहेका हुन्।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर आफ्नो भनाइबारे स्पष्टिकरण दिन, माफी माग्न तथा अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन्।

यही विवादका कारण मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ। सदनमा निरन्तर अवरोध भएपछि सरकार पक्षले समाधानका विकल्पहरूबारे संकेत गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेल ले आवश्यकता परे प्रधानमन्त्री शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिन सक्ने बताएका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “आवश्यकताअनुसार प्रधानमन्त्रीज्यूले मैले सदनमा सम्बोधन गर्नुपर्छ जस्तो लाग्छ भने उहाँले गरिहाल्नुहुन्छ। आवश्यकताअनुसार प्रधानमन्त्रीज्यूले उत्तर दिनुहुन्छ।”

तर प्रधानमन्त्री कहिले संसद् जाने भन्नेबारे भने उनले कुनै निश्चित मिति बताएनन्।

सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले राजनीतिक तथा कूटनीतिक दृष्टिले गम्भीर विषय उठाएको दाबी गर्दै संसद् अवरुद्ध गरिरहेका छन् भने सरकार पक्षले संवादमार्फत समाधान खोज्ने संकेत दिएको छ।